युनिभर्सल संवादाता–काठमाडौँ- बागलुङ गलकोट महिला समूहको मुख्य आयोजनामा तीज विशेष मौलिक गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको नेरिक एकेडेमीमा आयोजिन उक्त गायन तथा नृत्य प्रतियोगीतामा ७ वटा महिला समूहले भाग लिएका थिए । नेरिक एकेडेमी, गलकोट घुम्टे विकास मञ्च र गलकोट घुम्टे बहुउद्देश्सीय सहकारी संस्थासँग सहकार्य गरेर बागलुङ गलकोट महिला समूहले उक्त कार्यक्रमको आयोजना गरेको हो ।




गायन तथा नृत्य प्रतियोगीतामा इमाडोल महिला समूहले प्रथम स्थान हासिल गरी १० हजार नगद पुरस्कार सहित सम्मानित भएको छ । यसैगरी बनश्थली महिला समूहले दोस्रो स्थान हासिल गरी ७ हजार नगद पुरस्कार सहित सम्मानित भएको छ भने अर्घाखाँची सुपादेउराली महिला समूहले तेस्रो स्थान हासिल गरी ५ हजार नगद पुरस्कार सहित सम्मानीत भएको छ । शंखमुल महिला समूहले भने सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

नेपालीहरुको मौलिक पर्व हरितालिका तीजको अवसर पारेर आयोजित उक्त कार्यक्रममा ५०० भन्दा बढी महिला दिदीबहिनीहरुले सक्रिय सहभागिता जनाएका थिए । सारी चोलोको नेपाली पहिरनमा सजिएर गायन तथा नृत्यमा दिनभर रमाएका महिला दिदीबहिनीहरुको यो उत्साहले तीज पर्वको महत्व अझै बढाएको नेरिक एकेडेमीका प्रिन्सिपल मिलन केसीको भनाई छ । प्रिन्सिपल केसीका अनुसार नेरिक एकेडेमीले तीज लगायतका विविध नेपाली पर्वहरुको संरक्षणमा विद्यालय परिवारले हरेक वर्ष मौलिक कार्यक्रम गर्दै आएको छ ।




















